आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस

छहारी संवाददाता
बैशाख १९, २०७९

आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ मनाइँदै छ ।

सञ्चार तथा सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँमा रुपमा परिणत गरिदिएको छ । मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन सञ्चार तथा सूचना प्रविधिले महत्त्वपूर्ण भूमिका खेलेको छ। सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै यसलाई व्यवस्थित गर्न सरकारले तयारी थालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दिवसका अवसरमा शुभकामना दिँदै सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताउनु भएको छ । उहाँले प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आमनागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित सबैमा आग्रह पनि गर्नुभएको छ ।

यस्तै, सूचना तथा सञ्चार प्रविधिको विकास एवम् विस्तार गरी सुशासन कायम गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनको प्रक्रियामा रहेको पनि उहाँले बताउनु भएको छ ।

यसैबीच, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई व्यवस्थित गर्न सरकारले नीतिगत, कानुनी, संरचनागत तथा प्रक्रिया निर्माण, परिमार्जन र सुधारका कार्य उच्च प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*