वडा सभापतिहरूको अडान: हेटौंडाको मेयर कांग्रेसले पाउनुपर्छ, नत्र गठबन्धन मान्दैनौं
हेटौंडाको मेयर नेपाली कांग्रेसले पाउनुपर्ने वडा सभापतिहरूले माग गरेका छन् ।
नेपाली कांग्रेस नगरसभापति उत्सव इटेनीको सभाध्यक्षतामा बसेको बैठकमा वडा सभापतिहरूले हेटौंडाको मेयर कांग्रेसले पाउनुपर्ने माग गरेका हुन् । बैठकमा सहभागि हेटौडा नगरका १९ वडाका सभापतिहरूले कांग्रेसबाट जो उम्मेदवार भएपनि स्विकार्ने तर मेयर पद अरुलाई छोड्न नहुने कुरामा जोड दिएका थिए ।
उनीहरूले नगरमा गठबन्धनका अन्य दल भन्दा कांग्रेसको प्रभाव बलियो रहेकाले मेयर नै लिनुपर्नेमा केन्द्रीय नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । जनाधार बलियो भएको बेला अरूलाई मेयर जिम्मा लगाए बिद्रोह हुने उनीहरूको धारणा छ, प्रष्टखबरले लेखेको छ ।
नेतृत्व तहले यसबारे तल्लो तहसंग पनि समन्वय गर्दा राम्रो हुनेमा उनीहरूले जोड दिएका छन् । मेयरमा हेटौंडा नगर समितिले आनन्दराम पराजुली, उत्सव ईटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको छ ।







