हेटौंडामा औद्योगिक आगलागी व्यवस्थापन सम्बन्धित व्यवहारिक अभ्यास
जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा मंगलबार औद्योगिक आगलागी व्यवस्थापन सम्बन्धित व्यवहारिक अभ्यास गरिएको छ ।
हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कपडा उद्योगको स्कुललाई एक नमुना कारखाना बनाई उद्योगमा आगलागी हुदाँ कसरी जनधनको क्षतिबाट बच्न सकिन्छ भन्ने अभ्यास नमुना सुरक्षाकर्मीले प्रस्तुत गरेका थिए ।
आगलागी हुँदा संयमित भएर बच्न र बचाउन खेल्नुपर्ने भूमिकालाई सुरक्षाकर्मीले डेमो मार्फत देखाएका थिए । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको संयोजकत्वमा जिल्ला विपद् व्यवस्थापनले आयोजना गरेको कार्यक्रमको सहजिकरण सशस्त्र प्रहरी गण १४ नम्बरका प्रहरी उपरिक्षक नेत्रबहादुर कार्कीले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले आपतविपद् कति बेला कसरी आउछ भन्ने थाहा हुदैन त्यसैले अगाडीनै तयारी अवस्थामा रहन सुरक्षाकर्मीलाई ध्यानाकर्षण गर्दै नागरिकहरुलाई सचेतना दिन यस्तो कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी, गोरख बहादुर गण सुपारेटार, जिल्ला प्रहरी कार्यालय, उद्योग संघ मकवानपुर, हेटौंडा उपमहानगरपालिका लगायतको सहकार्य रहेको थियो ।
कार्यक्रममा उपमेयर मिना कुमारी लामा, उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेल, जिल्ला प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक पप्पु शर्मा, नेपाल पत्रकार महासंघ अध्यक्ष मणिराज गौतम लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।







