हेटौंडा नगर प्रमुखमा कांग्रेसबाट एक महिलासहित ३ जनाको नाम सिफारिस
हेटौंडा नगर प्रमुखमा नेपाली कांग्रेसबाट एक महिलासहित ३ जनाको नाम सिफारिस भएको छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडानगर प्रमुखमा एक महिला र दुई पुरुष तथा उपप्रमुखमा ३ महिलाको नाम सिफारिस गरिएको हो । आइतबार बसेको कांग्रेस हेटौंडानगर कार्य समितिको बैठकले प्रमुखमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो।
त्यसैगरी उपप्रमुखमा इन्दिरा न्यौपाने, अमृता थापा र तारा राई कार्कीको नाम सिफारिस गरिएको हो। नगर कार्य समितिले प्रमुख र उपप्रमुखको नाम कांग्रेस मकवानपुर क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीले बताउनुभयो ।
नगर प्रमुखमा सिफारिस पराजुली २०७४ को स्थानीय तहको निर्वाचन अन्तर्गत हेटौंडानगर प्रमुखमा झिनो मतान्तरले पराजित हुनु भएको थियो । नगर कार्य समितिको बैठकले हेटौंडा उपमहानगरको प्रमुखको नेतृत्व कांग्रेसले पाउनुपर्ने निर्णय समेत गरेको छ।







