स्थानीय तह चुनाव २०७९ः मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशन हुने

छहारी संवाददाता
चैत्र १३, २०७८

निर्वाचन आयोगले स्थानीय तह चुनाव–२०७९ का लागि आज मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ ।

मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची प्रकाशन गर्न लागेको अयोगले जनाएको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार यसपालि झन्डै एक करोड ७८ लाख मतदाता रहनेछन् । दाबी विरोधपछि झन्डै एक लाख मतदाता सूचीबाट हटेका छन् ।

अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन । निर्वाचन आयोगले गएको फागुन १९ गतेदेखि एक हप्ताको म्याद राखेर मतदाता नामावली अद्यावधिक गर्न र त्रुटि भएमा सच्याउन भनेको थियो ।

नाम दोहोरिएको, मृत्यु भएका वा नागरिकता त्याग गरेका नामावली हटाइएको छ । २०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार एक सय १० जना मतदाता थिए । गएको मङ्सिर र पुस महिनामा सञ्चालित मतदाता नामावली विशेष अभियानमा झन्डै १८ लाख जनाले नामावली दर्ता गराएका थिए ।

आयोगले माघ २४ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता कायम भएका १६ वर्ष उमेर पुुगेका नेपाली नागरिकमध्ये वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरिसकेको छ ।

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मतदानको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार दिँदा झन्डै दुई लाख मतदाता थपिँदै छन् । स्थानीय तह चुनावका लागि अब ४७ दिन बाँकी छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*