मोरङको लेटाङमा लगाइएको कर्फ्यु हट्यो
अवस्था सामान्य बनेको भन्दै मोरङको लेटाङमा लगाइएको कर्फ्यु हटेको छ ।
जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले आज बिहान ६ बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको हो । लेटाङ–५ मा स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर गएको आइतवार तनाव भएको थियो ।
आइतवार स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो । घटनापछि लेटाङ नगरपालिका ३ र ४ को गंगेचोक र कमलपुर, लेटाङ–५ को सम्पूर्ण क्षेत्र र लेटाङ–६ को वडा कार्यालय क्षेत्र, मोरङे खोला र चिसाङ खोला क्षेत्रमा कर्फ्युको आदेश जारी भएको थियो।
कर्फ्यु हटेपछि जनजीवन सामान्य बनेको छ । कर्फ्यु हटे पनि यो क्षेत्रमा प्रहरी गस्ती र निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।








