एसईईका लागि रहेको १४ वर्ष उमेरको थ्रेसहोल्ड हट्यो
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हटाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको २ गको मन्त्रीस्तरीय निर्णयबाट एसईईका लागि रहेको १४ वर्ष उमेरको थ्रेसहोल्ड हटाएको र त्यसको सूचना प्राप्त भएर कार्यान्वयनमा गएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भएको उज्यालो अनलाइनले लेखेको छ ।
अरू देशमा रहेको व्यवस्था र नेपालमा कतिपय विद्यार्थीहरू १४ वर्षअघि नै कक्षा १० मा पुग्ने क्रम सुरु भएकोले कक्षा १० को वार्षिक परीक्षामा रहेको उमेर हद हटाएको उहाँले बताउनुभयो ।
बालबालिकाको वृद्धि विकासको दृष्टिले पाँच वर्ष पुगेपछि मात्रै विद्यालयमा भर्ना गर्नु ठिक हुने तर कतिपय बालबालिकाले केही कक्षा नपढी माथिल्लो कक्षामा जान सक्ने अवस्था हुने भएकाले उमेरको हद हटाउनु उपयुक्त देखिएको शर्माको भनाइ छ ।







