बागमती प्रदेश भित्र सञ्चालित योजनामा ढिलासुस्ती हटाउन मुख्यमन्त्री पाण्डेद्वारा अनुगमन सुरु

छहारी संवाददाता
२८ पुष २०७८, बुधबार ०९:१९

बागमती प्रदेश भित्र सञ्चालित योजनाहरुमा ढिलासुस्ती हटाउन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आकस्मिक तथा नियमित अनुगमनहरुलाई तीब्रता दिनु हुने भएको छ ।

यसैक्रममा मंगलबार मुख्यमन्त्री पाण्डेले पूर्वी मकवानपुरको बागमतीबाट सिन्धुली जोड्ने बागमती पुल निर्माणबारे चासो लिँदै अनुगमन गर्नु भएको छ । ठेक्का लागेको १० वर्ष नाघ्दा पनि निर्माण सम्पन्न नभएको उक्त पुल उहि माघदेखि सञ्चालनमा आउने पुल निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेले बताउनुभयो ।

पुलमा सामान्य यातायात सञ्चालन हुन सक्ने बताउँदै उहाँले भन्नुभयो, ‘यातायात सञ्चालनमा समस्या छैन, पुलमा सामान्य कालोपत्रे र पुलसँगै केही ड्याक बनाउने काम चाँडै सकिने छ, ३ वर्षसम्म अर्कै कम्पनीले काम गर्छु भनेर ढाँट्दा आफू पनि समस्यामा परेँ, अब काम करिब करिब सकिएको छ ।’ पुल निर्माणको लागि फाउन्डेसन नै बदल्नु परेकाले पनि निर्माणमा ढिलाइ भएको लामिछानेले बताउनुभयो ।

पुल निर्माणका लागि चैत मसान्तसम्म सीमा थपिएको र काम सकेर वैशाख १५ गते पुल शिलान्यास गर्नका लागि हस्तान्तरण गर्न आफू तयार रहेको लामिछानेले बताउनुभयो । ‘दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरु यही छोटो बाटो हुँदै माघ १२ गते हेटौँडामा हुने राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न आउन सक्छन् रु’ मुख्यमन्त्रीको प्रश्नमा लामिछानेले भन्नु भयो, ‘कालोपत्रेका लागि एक दिन पुल बन्द हुन सक्छ, नत्र यातायात रोकिन्न ।’

मदन भण्डारी राजमार्ग अन्तर्गत बागमती नदीमा पुल निर्माणको ठेक्का लागेको १० वर्ष ६ महिना पुगेको छ । निर्माण कम्पनीले तीनवर्ष भित्र काम सक्नेगरी २०६८ असार २९ गते २० करोड ६२ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*