शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा जलपक्षी गणना थालियो
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा जलपक्षी गणना थालिएको छ । निकुञ्जभित्र र बाहिर रहेका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो ।
गणनाका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञ, हिमाली प्रकृति, एनटीएनसी, नेचर गाइड एसाेसिएशनका प्रतिनिधिलगायत सहभागिता छन् ।
गणनामा वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरिएको सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिनुभयो । आउँदो माघ २ गतेसम्म स्थलगत रूपमा पुगेर र कुनै ठाउँमा डुङ्गा लगायतमा चढेर जलपक्षी गणना हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा जलपक्षी गणना हुनेछ । अरु ताल र नदीमा पैदल हिँडेरै गणना हुने भए पनि निकुञ्जभित्रको सलगौँडी तालमा भने हात्तीमा चढेर गणना हुनेछ ।
तालतलैया तथा सिमसार क्षेत्रका रैथाने र आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्ष जलपक्षीको अनुगमन र गणना हुँदै आएको छ ।
अघिल्लो वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजाति देखापरेका थिए। तालतलैयामा जलपक्षीको सङ्ख्या सँगै सिमसारको अवस्था बारेमा समेत अध्ययन हुने विज्ञ डगौराले बताउनुभयो। साभारः उज्यालो अनलाइन डटकम ।







