मकवानपुरमा यसवर्ष धान उत्पादन बृद्धि
मकवानपुरमा यसवर्ष धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार यसवर्ष २ हजार २ सय ५७ मेट्रिक टनले धान उत्पादन बढेको हो ।
गतवर्ष ४४ हजार ४ सय २० मेट्रिक टन धान उत्पादन भएकामा यसवर्ष ४६ हजार ६ सय ७७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मिन बहादुर पुनले जानकारी दिनुभयो । जिल्लामा यसवर्ष ३।७४ प्रति हेक्टर उत्पादकत्व भएकोमा गतवर्ष ३।७ प्रतिहेक्टर उत्पादकत्व रहेको थियो ।
सुचना अधिकारी पुनका अनुसार आधुनिक कृषि प्रणाली, सिँचाईको सुविधा, कृषकमा कृषिसम्बन्धि ज्ञान तथा उन्नत बीउ बीजनका कारण जिल्लामा धान उत्पादन बढेको हो । जिल्लामा कुल १३ हजार ४ सय २० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । उक्त क्षेत्रफलमा अनुमानित ५० हजार १ सय ९० मेट्रिक टन उत्पादन हुनुपर्नेमा बेमौसमी बर्षाले ३ हजार ५ सय १३ मेट्रिक टन धान क्षति भएको सुचना अधिकारी पुनले बताउनुभयो । तर, बर्षाले धानबालीमा क्षति पुर्याएपनि यहाँको धान उत्पादन भने बृद्धि भएको उहाँको भनाई छ ।
मकवानपुरमा सावित्री, सावा, रामधान, मकवानपुरे, वार लगायतका धान लगाइन्छ । जिल्लाका सबै स्थानिय तहमा धान खेती हुने गरेको छ । सबैभन्दा धेरै मनहरी गाउँपालिकामा धान खेती हुने गरेको छ । त्यहाँ ३ हजार ९ सय २५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।
यसैगरी, हेटौंडा उपमहानगरपालिकामा २ हजार, बागमती गाउँपालिकामा २ हजार ७ सय, बकैया गाउँपालिकामा १ हजार ७ सय, मकवानपुरगढी गाउँपालिकामा १ हजार ४ सय, कैलाश गाँउपालिकामा १ हजार १ सय , थाहा नगरपालिकामा २ सय, भिमफेदी गाँउपालिकामा २ सय, राक्सिराङ गाँउपालिकामा १ सय ५०, इन्द्रसरोबर गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।







