पत्रकार गिरिजा अधिकारीको“मकवानपुरमा मिडिया”विमोचन

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रम गर्ने श्रमजीवीले इतिहास रच्ने बताउनुभएको छ । मकवानपुरका पत्रकार गिरिजा अधिकारीद्धारा लिखित मकवानपुरमा मिडिया नामक पुस्तक विमोचन गर्दै प्रदेश प्रमुख शर्माले श्रम गर्ने श्रमिक, पत्रकार, शिक्षक जस्ले संघर्ष गर्छ ऊ नै इतिहासको सच्चा र वास्तविक रचयिता हुने बताउनुभएको हो । अंग्रेजी पत्रिका न्यू एराका सम्पादक समेत रहनुभएका प्रदेश प्रमुख शर्माले पहिले राजा, शासकहरुको गाथालाई लेख्ने र गाउने चिजलाई इतिहास भनिने गरेको भएपनि अहिले त्यो मान्यतामा परिवर्तन आएको बताउनुभयो ।
समाज परिवर्तन गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै प्रमुख शर्माले पत्रकारितालाई नयाँ ढंगबाट चलायमान बनाउन पत्रकारलाई आग्रह गर्नुभयो । पत्रकारले कसैप्रति आग्रह पूवाग्रह नराखी निश्पक्ष ढंगबाट कलम चलाउनु पर्नेमा शर्माको जोड रहेको थियो ।
कर्यक्रममा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले लोक कल्याणकारी विज्ञापन समानुपातिक ढंगबाट सबैलाई वितरण गरिने गरि सरकार लागिपरेको बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न अभिप्रेरित गर्दै आएको स्मरण गराउनुभयो ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय मकवानपुरका पत्रकार गिरिजा अधिकारीले लेख्नुभएको पुस्तक “मकवानपुरमा मिडिया”लाई राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरले बजारका ल्याएको हो । उक्त पुस्तकमा पञ्चायतकालिन समाजको पत्रकारिताको यथार्थ चित्रण, बहुदलीय शासन व्यवस्थाको अवस्था अनि पत्रकारिताको विकासका साथै लोकतान्त्रिक अभ्यासमा मकवानपुरमा डिजिटल मिडियाको अभ्यासलाई उतारिएको राइनिसि मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
पुस्तक विमोचन कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्साल, नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, लगायत मकवानपुरका संचारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।