माओवादी केन्द्र मकवानपुरले मंसिर १३ गते सबै पालिकाको सम्मेलन गर्ने
नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको बैठक शुक्रबार सम्पन्न भएको छ ।
पार्टी मकवानपुर जिल्ला इन्चार्ज तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता एवं पार्टी जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको सभाध्यक्षतामा बैठक बसेको हो ।
बैठकले पार्टी केन्द्रले गरेको सर्कुलर अनुसार मंसिर १३ गते जिल्लास्थित दशै वटा स्थानीय तहको सम्मेलन गर्न पालिका स्तरीय पार्टी कमिटिहरुलाई निर्देशन दिएको नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिनले बताउनुभयो ।
मकवानपुरको एक उपमहानगर, एक नगर र आठ पालिकाको सम्मेलन एकैदिन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । पार्टीले जारी गरेको अन्तरिम निर्वाचन निर्देशिका अनुसार महानगरमा चारसय, उपमहानगरमा तीनसय, नगरमा दुईसय, गाउँपालिमा एकसय ५० प्रतिनिधि निर्वाचित गराएर सम्मेलन गर्नुपर्नेछ ।
अब माओवादीको महानगरमा ९९, उपमहानगरमा ८१, नगरपालिकामा ६५ र पालिमा ५५ जनाको कमिटि निर्वाचित हुने निर्देशिकामा उल्लेख छ । बैठकमा प्रदेश कमिटिका सचिवालय सदस्य विष्णु विष्ट(आदर्श), प्रदेश कमिटि सदस्य भीम पाख्रिन, प्रल्हाद लामिछाने, ललित घलान, बीर बहादुर घलान सहित जिल्ला सचिवालय सदस्यहरु, पालिका इन्चार्ज तथा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।






