सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व सङ्कलन ९५ प्रतिशतले बढ्यो

छहारी संवाददाता
मंसिर १०, २०७८

साेलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलन ९५ प्रतिशतले बढेकाे छ । गएकाे आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा चालु आर्थिक वर्षको त्यही अवधिमा ९५ दशमलव ८० प्रतिशतले राजस्व वृद्धि भएको हो ।

कोरोना भाइरसका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिक (साउन, भदौ, असोज, कात्तिक) मा पाँच लाख ५१ हजार एक सय ३६ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । तर चालु आर्थिक वर्ष २०७८/०७९ को त्यही अवधिमा एक करोड १२ लाख ११ हजार पाँच सय ३३ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयको तथ्याङ्क छ ।

निकुञ्जका सूचना अधिकारी विष्णु रोकायाका अनुसार गएकाे आर्थिक वर्षको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट पाँच लाख १६ हजार तीन सय ५० रुपैयाँ, गैरकाष्ठ वन पैदावर बिक्री शुल्कबाट १८ हजार तीन सय ६ रुपैयाँ र दण्ड–जरिबानाबाट एक हजार ६ सय ५० रुपैयाँमात्रै राजस्व सङ्कलन भएको थियो । तर चालु आर्थिक वर्षमा भने सुरुवातदेखि नै पर्यटकीय गतिविधि चलायमान हुँदा राजस्व सङ्कलनमा अघिल्लो वर्षकाे तुलनामा धेरैले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पर्यटन प्रवेश शुल्कबाट एक करोड दुई लाख २८ हजार तीन सय रुपैयाँ, गैरकाष्ठ वन पैदावर (ढुङ्गा, गिटी बालुवा) शुल्कबाट सात हजार सात सय ७८ रुपैयाँ, दण्ड–जरिबानाबाट ४५ हजार रुपैयाँ, गाइड प्रवेश शुल्कबाट चार लाख ९२ हजार रुपैयाँ र भरिया प्रवेश शुल्कबाट ३० हजार ६ सय ५० रुपैयाँ सङ्कलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।

त्यसैगरी क्याम्पिङ शुल्कबाट तीन लाख १२ हजार तीन सय रुपैयाँ र अन्य शीर्षकबाट एक लाख १२ हजार आठ सय पाँच रुपैयाँ गरी एक करोड १२ लाख ११ हजार पाँच सय ३३ रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*