अपहरण मुद्धामा ९ वर्षदेखि फरार पर्साका एक जना पक्राउ
प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्षदेखि फरार रहेका पर्साका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक महादेवपट्टी गा.वि.स.वडा नं.५ हाल जिराभवानी गाउँपालिका–६ शंकरसरैया बस्ने ५६ वर्षिय प्रयाग चौधरी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालासँगको समन्वयमा आइतबार पक्राउ गरेको हो । उनलाई काठमाण्डौ महानगरपालिका वडा नं.९ तिलगंगाबाट पक्राउ गरिएको हो ।
चौधरीले २०६७ फागुन २४ गते भारतको बिहार मुजफ्फरपुर मुसहरी बस्ने २० वर्षिय संजय कुमार यादवलाई वीरगंज महानगरपालिका–३२ बाट अपहरण तथा बन्धक बनाएको आरोप थियो । सोही मुद्धामाथि पर्सा जिल्ला अदालतले २०७० माघ १७ गते फैसला गर्दै चौधरीलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । चौधरीलाई पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।







