पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

छहारी संवाददाता
कार्तिक १४, २०७८

सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ।

संघका अध्यक्ष राजीव ढुंगानाले आइतबार एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत मूल्यवृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयप्रति खेद र भत्र्सना गरेका छन्।

‘कोभिड १९ का कारण लामा समयदेखि अप्ठ्यारो भोगिरहेका नेपाली जनताको ढाड सेक्ने गरी कोहीकसैबाट पनि भएका निर्णय हामीलाई मान्इ हुने छैन’, विज्ञप्तिमा भनिएको छ, ‘यो समय भनेको प्रतिकूलतामा बसिरहेका नेपाली जनतालाई राहत महसुस हुने गरी कार्य गर्ने समय हो।’

अध्यक्ष ढुंगानाले सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गरेका छन्। उनले आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्दै त्यहाँका विभिन्न नाममा सञ्चित गरिएका मूल्य स्थिरीकरण कोषलगायतका विभिन्न कोषहरुको सदुपयोग गर्दै जनतालाई राहत दिने कुरामा कडाइका साथ राज्यका सबै निकायलाई माग गरेका छन्।

आयल निगमले शुक्रबार मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको थियो। निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा मूल्य बढाएको हो। साभारः देशसञ्चार डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*