२० महिनापछि नेपाल-भारत मैत्री बस पुन: सञ्चालन
कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल-भारत मैत्री बस बीस महिनापछि पुनः सञ्चालनमा आएको छ ।
कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका मैत्री बस शुक्रबारदेखि सञ्चालनमा आएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले बताए । त्यस्तै उत्तर प्रदेश परिवहन निगमको बस भारतको राजधानी जिल्लाबाट यात्रुसहित आज बिहान महेन्द्रनगर पुगेको यातायात प्रालिले जनाएको छ ।
गड्डाचौकी नाकाबाट स्थानीय प्रशासनले भारतीय यातायात भित्रिँदा आउने यात्रुले कोरोना खोप लगाएको कार्ड र पछिल्लो ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट हेर्ने गर्छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्वास्थ्य मापदण्डका साथै भारतीयलाई परिचय खुल्ने कागजात र भन्सार तिरेर मात्रै आउन दिइएको जनाएको छ ।
महाकाली यातायात प्रालिले यहाँबाट हरेक दिन नेपाल–भारत मैत्री बस सञ्चालन हुने जनाएको छ । कोरोना सङ्क्रमण फैलिनुअघि महेन्द्रनगरबाट भारतको दिल्ली र देहरादुन गरी दैनिक नौवटा बस सञ्चालनमा थिए । लामो समय यातायात सेवा कोरोनाका कारण प्रभावित हुँदा यहाँका यातायात व्यवसायी नराम्ररी प्रभावित बनेका छन् । साभारः अनलाइन खबर डटकम ।







