आज आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षा हुने
देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन्। अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का र फाटफुट वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
यसैगरी राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। बागमती र प्रदेश नं १ का थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यसैबीच देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै–थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। साभारः देशसञ्चार डटकम ।







