वीरगंजबाट बेचबिखनमा पर्न लागेकी युवतीको उद्धार, १ जना पक्राउ
पर्सा । प्रहरीले बेचबिखनमा पर्न लागेकी एक जना युवतीको उद्धार गरेको छ । सोमबार बिहान वीरगंज महानगरपालिका-१७ अलौमा खटिएको सशस्त्र प्रहरी र आफन्त नेपाल संस्थाको समन्वयमा नुवाकोट घर भएकी २३ वर्षीया युवतीको उद्धार गरिएको हो ।
बेचबिखनमा संलग्न रहेको आरोपमा भारतको पूर्वी चम्पारण भुलाहीका ३२ वर्षिय रेयान खान भन्ने मुन्ना आलमलाई प्रहरीले पक्राउ गरेको छ । भारततर्फ जान लागेका १ जना महिला तथा १ जना पुरुषलाई शंका लागेर उनीहरुलाई सोधपुछ गरिएको थियो ।
पहिल्यै विवाहित भएका आलमले फेसबुकमार्फत चिनजान गरि उनलाई झुट्ठा प्रेम सम्बन्ध राखेर विवाह गर्ने बहानामा नारायणगढ बोलाएका थिए । उनले प्रहरीलाई झुक्याउने उद्देश्यले बुर्का लगाएर वीरगञ्जसम्म ल्याएर ईनर्वा नाका भनी सिर्सिया नाकातर्फबाट सीमापार गराएका थिए ।
उनले युवतीलाई भारत लगेर बेचबिखन गर्ने उद्देश्य राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
रेयान खानलाई पर्सा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।







