भारत लैजान लागिएको डिजेलसहित ट्याक्टर नियन्त्रणमा
छहारी संवाददाता
अशोज १९, २०७८
पर्सा । प्रहरीले अवैध रुपमा डिजेल चोरी गरि भारततर्फ निकासी गर्न प्रयोग गरिने ट्याक्टर नियन्त्रणमा लिएको छ । जगरनाथपुर गाउँपालिका–२ स्थित सडकखण्डबाट ७० लिटर डिजेल आईतबार राती ना.३ त २५६६ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सो ट्याक्टरमा डिजेल लोड गरी जानकी टोलको बाटो हुँदै अवैधरूपमा चोरी निकासी भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पाण्डेपुरबाट प्रहरी खटिएको थियो ।
ट्याक्टरलाई रोकेर जाँच गर्ने क्रममा चालक ट्याक्टर छाडेर फरार भएको प्रहरीको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको भनाई छ । उनका अनुसार डिजेलसहित ट्याक्टरको मूल्य ७ लाख ४ हजार ९ सय रुपैयाँ मूल्यांकन गरिएको छ । डिजेलसहितको उक्त ट्याक्टर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यायमा बुझाइएको प्रहरीले जनाएको छ ।







