वीरगंजमा स्रोत नखुलेको साढे १५ लाख रकमसहित तीन जना पक्राउ

छहारी संवाददाता
अशोज १५, २०७८

पर्सा । प्रहरीले स्रोत नखुलेको साढे १५ लाख रुपैयाँसहित वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको धोविनी गाउँपालिका–३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेल, भारतको पूर्वी चम्पारण थाना कंगेली–१ वसन्तपुरका २५ वर्षीय विक्रम पटेल र मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल रहेका छन् ।

छपकैया–सिर्सिया नाका हुँदै हुण्डी कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया छोटी भन्सार अगाडिबाट उनीहरुलाई पक्राउ गरेको हो । चेकजाँचको क्रममा उनीहरुले लगाएको हेल्मेटभित्रबाट सो रकम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनीहरुले प्रयोग गरेको ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तीनै जनाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*