वीरगंजमा मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवक पुनः पक्राउ
पर्सा । वीरगञ्जमा मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई प्रहरीले पुनः पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने १९ वर्षीय समशाद मियाँ रहेका छन् ।
उनलाई वीरगञ्ज–२, ईदगाह चोकबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । वि.स.२०७६ भदौ २० गते वीरगञ्ज–४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा मियाँले १५ वर्षीया मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।
घटना लगतै पक्राउ परेका मियाँविरूद्ध ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतले उनलाई पूर्पक्षको लागि बालसुधार गृह पठाएको थियो ।
कोभिड–१९ को पहिलो लहरका कारण २०७६ चैत १२ गते अदालतको आदेशमा मियाँलाई उनको संरक्षकको जिम्मा लगाइएको थियो । उनलाई अदालतले चैत २६ गते बाँकी कैद ५ महिना १६ दिन पूनः बालसुधार गृहमा राखेर भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो । तर फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनी फरार भएका थिए ।







