अवैध रुपमा भित्रिएका ३ वटा भारतीय सवारी नियन्त्रणमा
पर्सा । प्रहरीले अवैध रुपमा भित्रिएका ३ वटा भारतीय सवारी साधन नियन्त्रणमा लिएको छ । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साले ३ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
प्रहरीले बिआर ०५ एबी ८५६१ नम्बरको अपाचे, बिआर ०५ एई ६८९३ नम्बरको पल्सर र बिआर ०५ एजी ८६८१ नम्बरको स्कुटी नियन्त्रणमा लिएको जनाएको छ ।
वीरगञ्जको विभिन्न स्थानमा चेकिंग गर्ने क्रममा वेवारिसे अवस्थामा रहेको ती सवारी साधनहरु नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । ती सवारी साधनहरुको २ लाख ४० हजार रुपैयाँ मूल्याकन गरि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।







