त्रिशूली नदीमा कार खस्दा तीन बेपत्ता
त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार चितवनको इच्छाकामना गाउँपालिका–५ मा राति अनियन्त्रित भई सडकबाट तल नदीमा खसेको हो ।
कार बिहीबार राति ११ः४५ बजे सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते हुनुभएको छ । उहाँको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बेपत्ता हुनेमा पोखरा महानगरपालिका–१७ बस्न बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेको बताइएको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।







