कटुवा पेस्तोलसहित रौतहटमा ४ जना पक्राउ
रौतहट । कटुवा पेस्तोल र सोमा लाग्ने गोलीसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुर्गाभगवति गाउँपालिका वडा नम्बर २ भलुहीया बस्ने वर्ष २४ संजय साह सोनार र २८ वर्षिय संजिव कुमार महतो, सोही पालिका वडा नम्बर १ बस्ने १९ वर्षिय राजेश कुमार चौधरी र गढीमाई नगरपालिका-६ धरमपुर बस्ने २४ को वर्षिय दिनेश महरा रहेका छन् ।
बुधबार दिउँसो संजयले आफनै घरमा हातहतियार लुकाई छिपाई राखेको छ भने सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोही सुचनाको आधारमा संजयको घर खानतलासी गर्दा बालुवाको बोराभित्र लुकाई छिपाई राखेको १२ बोरको १ थान कटुवा पेस्तोल र सोमा लाग्ने २ थान गोली बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले संजयसहित कटुवा पेस्तोल लुकाएर राख्ने कार्यमा संलग्न रहेको भन्दै संजिव, राजेश र दिनेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
उनीहरू ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







