समान कामको लागि समान ज्याला व्यवहारमा लागु गर्न माग गर्दै थाहा नगर प्रमुखलाई ज्ञापनपत्र
अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगर कमिटिले समान कामको लागि समान ज्याला व्यवहारमा लागु गर्न माग गर्दै थाहा नगर प्रमुख लबशेर बिष्टलाई ज्ञापनपत्र बुझाएको छ ।
कमिटिले महिला हिंसामुक्त पालिका घोषणा लगायत महिलासँग सम्बन्धित १२ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । शिक्षण संस्था, स्वास्थ्य संस्था वरपर धुम्रपान, मद्यपान र जुवातास निषेध क्षेत्र घोषणा गरिनुपर्ने, माध्यमिक तहसम्म विद्यालयलाई किशोरी मैत्री बनाउनुपर्ने, सेफ हाउस व्यवस्था हुनुपर्ने लगायतका माग ज्ञापन पत्रमा समेटिएको छ ।
साथै, ज्ञापन पत्रमा लैंगिक उत्तरदायी बजेट १० प्रतिशतको व्यवस्था गरी महिलाहरुको क्षमता तथा सीप विकास गर्नुपर्ने, सबै महिलाहरुलाई अस्पतालमै सुत्केरी गराउने व्यवस्था हुनुपर्ने, समान कामको समान ज्याला कार्यान्वयन गर्नुपर्ने जस्ता माग छन् ।
संगठनका जिल्ला सदस्य पबित्रा ठकुरी, थाहा नगर उपाध्यक्ष मिरा खड्का, सचिब जयन्ती रायमाझी, कोषाध्यक्ष राजी बस्नेत, सदस्य रीता कार्की, कृष्णा रायमाझी, लक्ष्मी रायमाझी, माओबादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य बिष्णु बिष्ट, थाहा नगर कमिटि सचिवालय सदस्य दिपेन्द्र कुमार थिङ लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाएका हुन् ।
महिला संघ (क्रान्तिकारी) को केन्द्रीय कार्यक्रम अनुसार देशैभरका पालिकामा ज्ञापन पत्र बुझाईएको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटी अध्यक्ष शकुन्तला गोपालीले जानकारी दिनुभयो ।







