सुशासनको लागी स्थायी सत्ता इमान्दार हुन आवश्यक : मुख्यमन्त्री राउत
महोत्तरी । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन कायम गर्न स्थायी सत्ता इमान्दार हुन आवश्यक रहेको बताएका छन् । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक सुशासन केन्द्रले बर्दिवासमा आयोजना गरेको स्थानीय तहको संस्थागत स्वमुल्यांकन सम्बन्धि समिक्षा एवं अनुशिक्षण कार्यक्रमलाई समुदघाटन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।
कर्मचारी तन्त्रको सहयोग विना अनियमितता हुनै नसक्ने बताउँदै मुख्यमन्त्री राउतले जनप्रतिनिधिलाई नियम कानून बुझाउने जिम्मा समेत स्थायी सत्ता अर्थात कर्मचारीहरुकै रहेको उल्लेख गरे । सुशासन कायम गर्ने पहिलो खुडकिलो स्वमुल्यांकन रहेको उल्लेख गर्दै उनले स्वमुल्यांकनलाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई निर्देशन समेत दिए । प्रदेशका अधिकांश स्थानीय तहले स्वमुल्यांकन नतिजा प्रकाशन गर्न नसकेको तर्फ इंकित गर्दै मुख्यमन्त्री राउतले भने, ‘हामी आफ्नो मुल्यांकन समेत गर्न सकिरहेका छैनौं, कसरी सुशासन सम्भव हुन्छ ।’
जनप्रतिनिधिहरु एउटा निश्चित अवधी मात्र रहने तर कर्मचारीहरु लामो समय रहने हुनाले सुशासन कायम गराउने ठुलो दायित्व कर्मचारीहरुकै काँधमा रहेको उनले बताए । प्रदेशमा भ्रष्टाचार अन्त्यको लागी जनलोकपाल आयोग गठन भईसकेको जानकारी दिँदै मुख्यमन्त्री राउतले अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही गर्ने अधिकारी आयोगको रहेको हुँदा सचेत रहन समेत आग्रह गरे ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रादेशिक निर्देशक एवं मुख्यमन्त्री कार्यालयका सचिव यम प्रसाद भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव हरिप्रसाद मैनाली, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव वसन्त अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकाल सहितको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश स्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ ।







