संविधान विरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्छः प्रचण्ड

छहारी संवाददाता
३ आश्विन २०७८, आईतवार १९:५८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउनुभएको छ ।

जसपा र एमालेबाट माओवादी केन्द्रमा आएका नेता तथा कार्यकर्तालाई अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले माओवादी शक्तिका बीचमा एकता र सहकार्य जरुरी रहेको बताउनुभयो । विगतका माओवादी आन्दोलनमा रहेका सबै साथीहरू एउटै केन्द्रमा आउने वातावरण बन्दै गएको भन्दै उहाँले अहिले नआउने पनि केही समयपछि फर्कने बताउनुभयो ।

माओवादी आन्दोलन र यसले उठाएका एजेन्डालाई राष्ट्रियरूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने तथा आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने गरी विकास गर्ने अवसर आफूहरूमा रहेको प्रचण्डको भनाइ थियो ।

हिजो संसद विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसीसीमार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले गठबन्धन रक्षा नै देश, संविधान र गणतन्त्रको हितका लागि भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*