संविधान दिवसलाई गौरवान्वित महसुस गर्दै मनाउन बागमती प्रदेश प्रमुखको आग्रह
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सामन्ती निरंकुश केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य भएको दिनका रुपमा संविधान दिवस मनाइएको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ का अवसरमा आइतबार हेटौंडामा गरेको कार्यक्रमलाई संबोधन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति सुशासन विकास समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी संविधान जारी भएको ऐतिहासिक दिन स्मरण गर्नुभयो ।
सार्वभौम र स्वतन्त्र मुलुकका रुपमा नेपाली जनताले संविधान पाएको आजको ऐतिहासिक दिनलाई गौरवान्वित महसुस गर्दै राष्ट्रिय पर्वका रूपमा मनाईरहेको शर्माले बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाएका शहिदप्रति सम्मान प्रकट गर्दै श्रद्धान्जली व्यक्त गर्नु एको छ ।
संघियताको भावना र मर्मलाई आत्मसात गर्दै अघि बढेमा संघियता प्रतिको जनविश्वास थप कायम भई सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सहयोग पुग्ने अपेक्षा गरेको उहाँले बताउनुभयो।
उहाँले कोरोना भाईरसको संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आइनसकेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै सजगता अपनाउन र सुरक्षीत तवरले संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउन अपिल समेत गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, राज्यमन्त्रीहरु, सांसदहरु, मन्त्रालयका सचिवहरु, नेपाली सेना, नेपाल प्रहरी लगायतकाको उपस्थित रहेको थियो ।








