प्रतिबन्धित भारतीय नोटसहित युवक पक्राउ
पर्सा । प्रतिबन्धित भारतीय नोटसहित वीरगंजबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–४ बस्ने २५ वर्षिय अजय कुमार शर्मा रहेका छन् ।
मंगलबार साँझ प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो ।
भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१५ प २३७२ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा सोमा सवार शर्माको साथबाट प्रतिबन्धित भारतीय रू.५०० को दरको नोट–२९६ थान रु.१०० को नोट–५ थान फेला परेको थियो ।
उनको साथबाट फेला परेको १ लाख ४८ हजार ५ सय रुपैयाँ र मोटरसाईकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । उनलाई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।







