‘अब लगातार ठूलाे झरी नपर्ने तर स्थानीय वायुको प्रभावले केही ठाउँमा ठूलो पानी पर्न सक्ने’

छहारी संवाददाता
भदौ २८, २०७८

मौसमविद्ले अब बिस्तारै पानी पर्न कम हुँदै जाने बताएका छन् ।

मनसुनी गतिविधि कमजोर हुँदै गएकाले अब लगातार ठूलो झरी पर्ने सम्भावना नरहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । तर, स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने उहाँले बताउनुभयो ।

स्थानीय वायुको प्रभावले कुनै एक ठाउँमा केहीबेर ठूलो पानी पर्छ तर त्यहीँ नजिकै भने पानी नपर्न पनि सक्छ । स्थानीय वायुको असरले मेघगर्जनसहित खण्डखण्ड भएर ठूलो पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो।

उहाँका अनुसार स्थानीय वायुले पार्ने असरको पूर्वानुमान गर्न नै कठिन हुन्छ। अब मनसुनी न्यूनचापीय प्रणालीको असर भने कम मात्रै पर्ने मौसमविद्को अनुमान छ । नेपालमा सामान्यतया जुन १० तारिखमा मनसुन भित्रन्छ भने सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ ।

तर, यसमा केही दिन घटबढ भने हुने गरेको छ । आज सेप्टेम्बर १३ तारिख भइसकेको छ । यसले गर्दा पनि अब लगातार ठूलो झरी पर्ने सम्भावना कमै रहेको मौसमविद् अर्यालले बताउनुभयो ।

मौसमविद्ले आज देशका धेरै ठाउँमा हल्कादेखि मध्य खालको वर्षा हुने सम्भावना रहेको बताएका छन् । दिउँसो र बेलुका काठमाण्डौ उपत्यकामा पनि मेघगर्जनसहित पानी पर्ने अनुमान छ । गएको २४ घण्टामा गोरखाको बारपाकमा सबैभन्दा धेरै ७७ मिलिमिटर वर्षा भएको छ ।  साभारः उज्यालो अनलाइन डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*