शंकास्पद औषधिसहित वीरगंजबाट एक जना पक्राउ
पर्सा । प्रहरीले वीरगंजबाट शंकास्पद औषधि र ट्रकसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-२ बस्ने ३० वर्षिय सरोज मियाँ रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा ना.३ ख १३३५ नम्बरको ट्रकमा शंकास्पद किसिमका औषधिहरू रहेको भन्ने सूचना प्राप्त भएपछी शनिबार राती वीरगञ्ज-१६ नगवामा प्रहरीले चेकजाँच गरेको थियो । प्रहरी टोलीले उक्त ट्रकलाई रोकी जाँच गर्दा ट्रकबाट १३ लाख ४८ हजार ७७६ रुपैयाँ बराबरको पोलिबियन २५० एमएल सिरफ ७८६ कार्टुन बरामद भएको हो । तर आयात गर्न आवश्यक पर्ने ईजाजत प्राप्त चिकित्सकको स्वीकृति पत्र लिएको नपाइएपछी उक्त ट्रक, औषधि र चालक मियाँलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
ट्रक सोका चालक र औषधि आवश्यक कारवाहीको लागि आइतबार औषधि व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।







