नक्कली नोटसहित बारा र रौतहटका ५ जना पक्राउ

छहारी संवाददाता
भदौ २७, २०७८

बारा । नक्कली नोटको कारोबारीमा संलग्न रहेको आरोपमा प्रहरीले बारा र रौतहटका ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-९ रामपुर टोल बस्ने २४ वर्षिय सागर शुक्ला, सोही वडाको टेङरहर टोल घर भई विश्रामपुर गाउँपालिका-५ ईटियाही टोल बस्ने २५ वर्षिय राजु कुशवाहा, बाराकै करैयामाई गाउँपालिका-५ बस्ने ३६ वर्षिय विशेश्वर प्रसाद चौधरी रहेका छन् ।

यसैगरी, रौतहटको गुजरा नगरपालिका-३ बलुवा टोल बस्ने २४ वर्षिय सुनिल कुमार राम र सोही स्थान बस्ने ३६ वर्षिय रविन्द्र कुमार चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

शनिबार दिउँसो निजगढ नगरपालिका-८ स्थित तारा ईन होटलबाट उनीहरू पक्राउ परेका हुन् । सो होटलमा भाडा लिई केही दिनदेखी नेपाली नक्कली नोटहरुको कारोबार भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त होटलमा खानतलासी गर्दा होटलको लुम्बिनी कोठाभित्र प्रहरी प्रवेश गर्नसाथ कोठामा रहेका उनीहरू भाग्न खोजेका थिए ।

उनीहरूले झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा नक्कली नेपाली रू.१ हजार दरको २५ थान नोट फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी, प्रहरीले उनीहरुले प्रयोग गरेको र सोही होटलमा पार्किङ गरेको बा ९१ प ७४३५ नम्बरको मोटरसाइकल र बा १४ च ९३८२ नम्बर को स्कारपियो गाडी समेत बरामद गरेको छ ।

यस्तै सुनिल कुमार रामको घरमा नक्कली नोट बनाउने कागजातहरू लुकाइ छिपाई राखेको भन्ने जानकारी प्राप्त भएपछी इलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी खानतलासी गरेको थियो । तलासीको क्रममा नेपाली रू. १ हजार दरको नोट आकारको प्रति गड्डी १ सय थान भएको ९३ गड्डी कागज, ने.रु.१ हजार दरको ३९ थान नोट र बीआर ०५ क्यु ४६१० नम्बरको सुपर स्पलेण्डर मोटरसाइकल र प्रदेश २-०३-००१ प ४२६५ नम्बरको पल्सर मोटरसाइकल पनि बरामद भएको बारा प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका अभियुक्तहरूलाई मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*