प्रदेश २ सरकारले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने
जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना माहामारी बिरुद्धको सचेतना अभियान अन्तर्गत ‘नो मास्क, नो सर्भिस’ अभियान सञ्चालनमा ल्याउने भएको छ ।
मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न प्रादेशिक कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।
कोभिड १९ सङ्क्रमितहरुको सङ्ख्यामा कमि आएलगतै सर्वसाधारणले मास्कको प्रयोगमा हेलचक्र्याई गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालयहरुमा उक्त अभियान चलाउने निर्णय गरेको हो ।
मास्क प्रयोगमा सर्वसाधारणलाई सचेत गराउन सञ्चारमाध्यमहरुमार्फत विज्ञापन पनि प्रसारण÷प्रकाशन गराउने प्रदेश २ सरकारले निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री , समाजिक विकासमन्त्री, प्रमुख सचिव लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।







