चोरी गर्दै गरेको मोटरसाईकलसहित एक जना पक्राउ
पर्सा । चोरी गर्दै गरेको मोटरसाईकलसहित वीरगंजमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१४ पिपरा बस्ने २८ वर्षिय राधे पटेल रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
गएराती वीरगंज–१३ तेजारथ टोल बस्ने ३१ वर्षिय सुशिम अधिकारीको घरमा पार्किङ गरी राखेको ना २२ प ५७५० नम्बरको मोटरसाईकलको लक खोली चोरी गरेर भाग्दै गरेको अवस्थामा पटेल पक्राउ परेका हुन् ।
उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको गस्ती टोलीले मोटरसाईकल धनीको सहयोगमा पक्राउ गरेको हो ।
मोटरसाईकलसहित पक्राउ परेका पटेललाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







