बेचबिखनमा परेका ७ महिलाको उद्धार, २ जना पक्राउ

छहारी संवाददाता
भदौ १२, २०७८

पर्सा । प्रहरीले बेभबिखनमा परेका ७ युवतीको उद्धार गर्नुका साथै सोमा संलग्न २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भइ छौडादानो नै बस्दै आएकी ममताकुमारी भन्ने अजिमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई भारतको बिहार पुर्याइएका उनीहरुको पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत–११ आदापुर बजारबाट प्रहरीले उद्धार गरेको हो ।

उनीहरुलाई बेच्ने तयारी भइरहेको प्राप्त सूचनाको आधारमा आदापुर पुगेको प्रहरी टोलीले भारतीय प्रहरीसँगको समन्वय र आफन्त नेपाल नामक गैरसरकारी संस्थासँगको सहकार्यमा उनीहरुको उद्धार गरेको प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । छौँडादानोमा पुगेपछि मोबाइल खोसी उनीहरुलाई अँध्यारो कोठामा राखिएको समेत उनले जानकारी दिए ।

भारतकै विभिन्न स्थानमा पठाइ रकम लिइ निजहरूको इच्छा विपरीत अशोभनीय पोशाकमा विना पारिश्रमिक नाचगान गराउने, शारीरिक तथा मानसिक यातना दिइ श्रम शोषण गर्ने तथा बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको समयमा उनीहरुको उद्धार गर्न सफल भएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका विकेश र अजिमाविरुद्ध मानव बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*