नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी) सँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गरेको छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोलीसँगै पदाधिकारीसहित २२ जना सलानम एअरबाट ओमान प्रस्थान गरेका हुन् । अहिले कोभिडले गर्दा टोलीमा केही खेलाडी बढाएर लगिएको छ ।
नेपाल, ओमान र अमेरिका सम्मिलित लिग-२ सिरिज सेप्टेम्बर १३ देखि २० (भदौ २८ देखि असोज ४ गते) सम्म ओमानको मस्कटमा सञ्चालन हुनेछ । आइसीसीले खेल तालिका भने सार्वजनिक गरिसकेको छैन । तर हरेक टिमले अर्को टिमसँग दुई-दुई खेल खेल्नेछन् ।
त्यसअघि नेपालले ओमनमै पीएनजीसँग दुई वटा ओडिआई खेल खेल्नेछ । विश्वकप लिग-२ को सिरिजअघि नेपाललाई पीएनजी विरुद्धको खेल प्राक्टिसको रुपमा रहनेछ ।
नेपाल र पीएनजीबीचको खेल सेप्टेम्बर ५ र ८ तारिखमा (भदौ २० र २३ गते) ओमानमै हुनेछ । पीएनजी भने टी-२० विश्वकपका लागि ओमान जानेछ । जहाँ टी-२० विश्वकपको पहिलो चरणको खेल पनि अक्टोबरमा हुनेछ । पीएनजीसँगको दोस्रो ल डे नाइटमा हुनेछ ।
नेपालका प्रशिक्षक डेभ वाटमोर र कप्तान ज्ञानेन्द्र मल्ले त्रिकोणात्क सिरिज अघि पीएनजीविरुद्ध खेल महत्वपूर्ण हुने बताएका छन् । त्यस खेलबाट नेपालले टिम सेट गर्ने र प्रयोग गर्ने अपेक्षा गरिएको छ ।
नेपालले सन् २०२० मा फेब्रुअरीमा नेपालमै लिग-२ को पहिलो सिरिज खेलेको थियो । त्यसको डेढ वर्ष भन्दा बढी समयपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ५० ओभरको खेल खेल्न लागेको हो ।
यसअघि मार्चमै ओमानमै सिरिज हुने भनिएपनि कोरोनाको कारण स्थगित भएको थियो । यस्तै जुलाईमा नेपाल, स्कटल्याण्ड र नामिबिया बीचको सिरिज स्पेनमा गराउने तयारी गरेपनि नामिबियाका खेलाडीमा कोरोना संक्रमण भएपछि भ्रमण गर्न सम्भव नभएकाले २०२२ जुलाईसम्मको लागि स्थगित भएको छ । साभारः अनलाइन खबर डटकम ।