किशोरी हत्या आरोपमा १४ महिनापछि एक व्यक्ति पक्राउ
कास्कीको मादी गाउँपालिका-१० मकैखोलामा मामाघरमा बस्दै आएकी १७ वर्षीया किशोरी २०७७ असार १५ गते गाउँमा अन्तिम पटक देखा परिन् । मादी–९ सिप्लेबेंसी खास घर भए पनि बाबुआमासँग सम्बन्ध बिग्रिएका कारण उनी मामाघरमा हजुरआमासँग बस्दै आएकी थिइन् ।
नातिनी एकाएक घरबाट हराएपछि हजुरआमाले खोजी गरिन् । तर, पत्ता लाग्न सकेन । त्यसको १० दिनपछि अर्थात् २०७७ असार २५ गते मादी–११ मुखियशेरस्थित पातीघारीमा एक युवतीको शव भेटियो । कुहिएको अवस्थामा फेला परेको शव कीरा खाएर शरीरको अस्थिपञ्जर मात्रै बाँकी राखेको हुन्छ ।
घटना भएको १४ महिनापछि जिल्ला प्रहरी कार्यालय कास्कीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका–६ चालिसेका ४५ वर्षीय रामबहादुर थापा (मोटे) भनेर चिनिने खड्कबहादुर खवास छन् ।
खवासलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार स्याङ्जा पुतलीबजार नगरपालिका–४ शिवमन्दिर चोकबाट स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरेको हो । उनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।
स्याङजाका खवास मादी गाउँपालिकास्थित जनकल्याण मावि भवन निर्माणमा ज्यामी काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । कामकै सिलसिलामा ती युवतीसँग भेट भएको र बिहे गर्न दबाब दिएकाले आवेशमा आएर हत्या गरेको प्रहरीमा बयान दिएको डीएसपी हमालले बताए ।
‘खवासको पहिल्यै दुई जना श्रीमती रहेछन् । बयानका क्रममा करीब एक महिनाअघिबाट शारीरिक सम्पर्क राख्दै आएको तर, पछि बिहे गरेर सँगै बसौं भनेपछि आवेशमा आएर हत्या गरेको बयान दिएका छन्,’ प्रवक्ता हमालले भने, ‘कर्तव्य ज्यान मुद्दामा कास्की जिल्ला अदालतबाट दश दिन म्याद थपको अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं ।’ साभारः अनलाइन खबर डटकम ।







