चुरियामाई मन्दिर ओरालोमा बस दुर्घटना, चालकको मृत्यु, ७ जना घाईते
बारा । जितपुरसिमरा उपमहानगरपालिका–२२ पुर्ब पश्चिम लोकमार्ग सडकखण्डको चुरियामाई मन्दिर ओरालोमा आज बिहान बस पल्टिँदा एक जनाको ज्यान गएको छ । अन्य ७ जना घाईते भएका छन् ।
काठमान्डौबाट रौतहट बंकुलतर्फ जाँदै गरेको ना.६.ख.४६४१ नम्बरको रात्री बसको ब्रेक फेल भई सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ प.४११ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा पल्टिएको हो । दुर्घटनामा घाईते भएका बसका चालक हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ४९ को धर्मराज रेग्मीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उक्त बसमा चालक, सह–चालक गरि २८ जना सवार रहेको समेत उनले जानकारी दिए ।
दुर्घटनामा मोटरसाईकल चालक हेटौंडा–२ चौकी टोल बस्ने ३५ वर्षिय ईन्द्र बहादुर कार्की, कोल्हवी नगरपालिका–११ बस्ने २१ वर्षिय सुरज चौधरी, २८ वर्षिय राम प्रवेश राम घाईते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।
यसैगरी, दुर्घटनामा घाईते भएका कोल्हबी–११ कै ५७ वर्षिय देवकी पन्त र रौतहटको विजयपुर नगरपालिका–१ बस्ने ३४ वर्षिय गान्धी दासको अर्थोपेडिक अस्पताल हेटौडामा उपचार भइरहेको छ भने सोही अस्पतालमा उपचारपश्चात थप उपचारका लागि २२ वर्षिय बिहारीलाल चौधरीलाई चितवन मेडिकल कलेज रिफर गरिएको छ ।
त्यस्तै, कोल्हबी–१ बस्ने ३९ वर्षिय बिरेन्द्र प्रसाद चौधरी र १९ वर्षिय रोहण बहादुर अधिकारीको सन्चो अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।







