६ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ
छहारी संवाददाता
भदौ ३, २०७८
पर्सा । भारतबाट ल्याउँदै गरिएको अवैध चाँदीका गरगहनासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–६ बस्ने ६० वर्षिय नागेन्द्र साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
अवैध रूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले आज बिहान ८ बजे पक्राउ गरेको हो । वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटमा शंकास्पदरूपमा पैदल हिंडिरहेका उनलाई रोकी खानतलासी गर्दा ६ के.जी.१६८ ग्राम चाँदीको गहना फेला परेको प्रहरीले जनाएको छ ।
उक्त चाँदी सहित नियन्त्रणमा लिईएका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईने जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।







