भारतको छौडादानोबाट २ युवतीको उद्धार, २ जना पक्राउ
पर्सा । भारतबाट २ युवतीको उद्धार गर्दै उनीहरुलाई बेचबिखन गरेको आरोपमा २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-९ बस्ने २० वर्षिय लक्ष्मी दास र सुनसरीको ईटहरी उपमहानगरपालिका-१२ बस्ने १९ वर्षिय खुश्बु विश्वकर्मा रहेका छन् ।
झापाबाट १६ वर्षिय बालिका र २० वर्षिय युवती गरि २ जनालाई भारतको विहार राज्यस्थित छौडादानोमा पुर्याएर बेचबिखन भईरहेको भनी पर्सा प्रहरीलाई सुचना प्राप्त भएको थियो । जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले भारतीय काउन्टरपार्टससँग समन्वय गरि बालिका र युवतीको उद्धार गरेको हो ।
उनीहरुसँग सोधपुछ गर्दा उनीहरुलाई विश्वासमा पारी ‘पर्साको वीरंजमा पुर्याई अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाईदिने’ प्रलोभन देखाएको बयान दिएका छन् । आरोपितहरुले काम गर्ने ठाउँ देखाईदिने भन्दै झुक्याएर छौडादानोमा लगेर मोबाईल समेत खोसेर उक्त स्थानमा राखेको र भोलीपल्ट अन्यत्र लैजाने तयारी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
आरोपितहरुलाई साउन १२ गते पक्राउ गरि हिजो पर्सा जिल्ला अदालतबाट मानव बेचबिखन मुद्दामा ७ दिनको म्याद थप गराएर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







