बारामा हात्तीको दाह्रासहित तीन जना पक्राउ
बारा । हात्तीको दाह्रासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–११ बस्ने ३४ वर्षीय सूर्य प्रताप तामाङ, सोही स्थान बस्ने ३५ वर्षिय दिल बहादुर घलान र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने ३५ वर्षिय सुवास तामाङ रहेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका– २२ स्थित पुर्व पश्चिम लोकमार्गको २ नम्बर पुल नजिक जर्गा होटल अगाडीबाट ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको हात्तीको दाह्रा प्रहरीले फेला पारेको हो ।
प्रहरीले उनीहरुको साथबाट ३ फिट ८ ईन्च लम्बाई १२ ईन्च मोटाई भएको ८ किलो ४४० ग्राम तौल भएको १ थान हात्तीको दाह्रा बरामद भएको जनाएको छ ।
हात्तीको दाह्रासहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







