नहरमा डुबेर ५ जनाको मृत्यु
बाँके र चितवनमा नहरमा डुबेर पाँच जनाको मृत्यु भएको छ । बाँकेमा तीन जना र चितवनमा दुई जनाको मृत्यु भएको हो ।
बकर इदको अवसरमा रमाइलो गर्न भन्दै बाँकेको नेपालगञ्जबाट कोहलपुर गएका तीन युवाको कोहलपुर नगरपालिका १० चटारस्थित डुडुवा खोलामा रहेको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवनमा दुई जनाको मृत्यु
यसैगरी चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको पनि नहरमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब चार बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए । नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अंकित पनि बगेका थिए ।
उनीहरु नहरमा बेपत्ता भएको खबर पाएपछि प्रहरीले खोजी गर्दा २०० मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा उनीहरुको साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । साभारः अनलाइन खबर डटकम ।







