सप्तकोशी नदीमा पानीको बहाब बढ्दै, २४ वटा ढोका खोलियो
विगत केहिदिन यता सप्तकोशी नदीको बहाबमा उतार चढावको आइरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढिरहेको हो ।
सामान्यतया नदीको बहाबमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको बहाब पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । आज साँझको मापन अनुसार कोशी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ ।
कोशीको पछिल्लो मापन अनुसार नदीको बहाबमा निरन्तर वृद्धि भैरहेको छ ।सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहेपनि अहिले सम्म तटिय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ ।
प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमन समेत जारी रहेको बताएको छ । निरन्तर वर्षा भइरहेको हुँदा नदीको बहाब जुनकुनै बेला बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन भने सूचित गर्दै आएको सुनसरी प्रशासनले जनाएको छ । साभारः अनलाइन खबर डटकम ।







