आज यी नदीहरुमा आउन सक्छ बाढी
देशका विभिन्न नदीहरुमा शुक्रबार पानीकाे बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।
नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका स-साना सहायक नदीमा बहाव उल्लेख्य बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान गरिएकाे महाशाखाले जानकारी दिएकाे छ।
बिहानकाे मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेकाे र सतर्कता तहभन्दा तलै रहेकाे पनि महाशाखाले जनाएकाे छ। तर दिउँसाे पानी पर्ने र केही नदीहरुमा आकस्मिक बहाव बढ्न सक्ने भएकाेले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएकाे छ।
आज पश्चिम राप्ती, बबईमा बहाव केही बढ्ने तर सतर्कता तह भन्दा तलै हुने अनुमान गरिएकाे छ। कन्काई, कमला, बागमती जलाधारका स-साना सहायक नदीमा क्षणिक, मध्यम तथा भारी वर्षा भई बहाव बढ्ने र केही स-साना नदीमा आकस्मिक बवाह बढ्ने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा, धनकुटा, ताप्लेजुङ संखुवासभा, प्रदेश २ को सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी तथा बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकाेट, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा, म्याग्दी, बागलुङ, मनाङ, लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा, कपिलबस्तु, रुपन्देही, दाङ, कर्णाली प्रदेशको मुगु, डोल्पा र सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली आसपासका जिल्ला भई बहने स-साना नदी जलाधारमा बहाव केही बढ्न सक्ने र केहीमा आकस्मिक बहाव (Flash Flood) हुन सक्ने पूर्वानुमान महाशाखाले गरेकाे छ।
देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।
प्रदेश नम्बर १ र बागमती प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा राति पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हो।
प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानमा राति पनि मेघगर्जन र चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
अहिले बिहान देशका अधिकांश भूभागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको माैसमविदले जानकारी दिएका छन्।
प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएकाे छ।
साभारः देशसञ्चार डटकम ।







