वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा नारायणी अस्पताललाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण
वीरगञ्ज उद्योग वाणिज्य संघले नारायणी अस्पताललाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै संघका अध्यक्ष सुबोधकुमार गुप्ताले ९ लाख मूल्य बराबरको ३ थान मेडिकल अक्सिजन कन्सेन्ट्रेटर र २ थान प्यासेन्ट मोनिटर नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. वीरेन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गर्नु भएको हो ।
अध्यक्ष गुप्ताले हस्तान्तरण गरिएका उपकरणहरु पूर्ण रुपमा सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले सहयोग स्वरुप हेल्भेटास नेपाल–इलम परियोजनाबाट प्राप्त स्वास्थ्य उपकरण प्रति आभार व्यक्त गर्नुहुँदै आगामी दिनहरुमा समेत यस्ता कार्यहरुको लागि सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
स्वास्थ्य सेवालाई अझ सुदृढ एवम् प्रभावकारी ढङ्गबाट प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले वीरगञ्ज उद्योग वाणिज्य संघले सघन चिकित्सा इकाई निर्माण गर्नुका साथै उपकरणहरु हस्तान्तरण गरेको हो । उक्त स्वास्थ्य उपकरणहरु वीउवा संघलाई हेल्भेटास नेपाल, इलम परियोजनाबाट सहयोग स्वरुप प्राप्त भएको थियो ।
कार्यक्रममा डा. निरज सिंह, वीउवा संघका महासचिव मनोज दास, मनोज उपाध्याय, हेल्भेटास नेपाल–इलम परियोजना, प्रदेश नं. २ का संयोजक कृष्णलाल कर्ण, वीरगञ्ज नेपालका बिजनेस कन्सल्टेन्सी सुनिलकुमार साह लगायतको उपस्थिति रहेको थियो ।





