लकडाउनले समस्यामा परेका आफ्ना खेलाडीलाई उसु महासंघद्वारा राहत वितरण

छहारी संवाददाता
असार ८, २०७८

नेपाल उसु महासंघले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका आफ्ना खेलाडीहरुलाई राहत वितरण गरेको छ । महासंघका पदाधिकारीले काठमाडमैं उपत्यकाका विभिन्न स्थानमा पुगेर खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका हुन् ।

महासंघले मनमैजु, जावलाखेल र बौद्धमा राहत वितरण गरेको हो । खेलाडीहरुलाई राहत सामग्री लैजान सहज होस् भनेर विभिन्न स्थानमा पुगेर वितरण गरिएको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ४५ जना उसु खेलाडीलाई राहत सामग्री वितरण गरिएको छ । राहत वितरणमा महासचिव लामासँगै कोषाध्यक्ष लानम लामा र सहकोषाध्यक्ष नारायण गिरीले संयोजन गरेका थिए ।

पहिलो चरणमा प्रत्येक खेलाडीलाई २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, एक प्याकेट नून, माक्सलगायतका सामग्री वितरण गरिएको थियो । राहत वितरणका लागि स्थापना गरिएको कोषमा बेल्जियममा रहेका मिङमार छिरिङ लामा तथा छम्जी लामाले एक लाख रुपैयाँ सहयोग गरेका थिए ।

यस्तै उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङबाट ६० हजार, उपाध्यक्ष हरि थापाबाट १० हजार, उपाध्यक्ष दुष्यन्त बस्नेतबाट १० हजार, कोषाध्यक्ष लानम लामाबाट पाँच हजार रुपैयाँ प्राप्त भएको महासंघले जनाएको छ । महासंघले आगामी दिनमा पनि राहत वितरण निरन्तर रुपमा सञ्चालन गर्न सेवा राहत कोष स्थापना गर्ने भएको छ । कोषमा जम्मा भएको रकमबाट खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई राहत वितरण गर्ने योजना महासंघको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*