हेटौडा ७ मा नवोदय जेष्ठ नागरिक दिवासेवा केन्द्रको निर्माण कार्य जारी

‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ ‘मातृदेवो भवः पितृदेवो भवः’ उपमाले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने, सम्मान गर्ने पुरानो परिपाटी छ । यद्यपी अहिले हाम्रै समाजमा बृद्ध भएका व्यक्तिलाई अपमानित वा हेलाको भावले थाङ्ने, गनगने बुढाबुढी जस्ता अपशब्द प्रयोग गरी अपमानित गर्नेहरु पनि छन् ।
यस्ता भाव अथवा शब्दले बताउँछ ज्येष्ठ नागरिकमाथि कुनै न कुनै किसीमले दुव्र्यवहार भइरहेको छ । यस्तो कुसंस्कार भित्र पनि जेष्ठ नागरिकको सम्मानमा जुट्ने व्यक्ति र संस्थाको संख्या भने दिनदिनै बढीरहेकै छ । यसैक्रममा बृद्धबृद्धाहरुको मेलमिलाप केन्द्रको रुपमा निर्माण हुदैछ. ‘नवोदय जेष्ठ नागरिक दिवासेवा केन्द्र ।’
हेटौडा ७ नागस्वती आदर्श टोलमा आफ्नो वडामा भएका बृद्ध बृद्धाहरुलाई उनिहरुकै रुचि अनुसार क्रियाकलापहरु संचालन गर्ने गरि केन्द्र स्थापना गर्न लागिएको वडा अध्यक्ष राजन थापाले बताउनुभयो । बृद्धबृद्धाहरुसंग टोल समाज र देशको अहिलेको युवाहरुले विश्वास नै गर्न नसक्ने जिउदो इतिहास र कथाहरु छन् भन्दै अध्यक्ष थापाले त्यसलाई जिवन्त राख्ने कार्य केन्द्रबाट संचालन हुने कार्यक्रममा गरिने बताउनुभयो ।
हेटौडा उपमहानगरपालिकाबाट १२ लाख, उपभोक्त समितीबाट १ लाख ५१ हजार र अन्य स्रोतबाट १ लाख ५१ हजार गरी जम्मा १५ लाख २ हजार रुपैया लगानीमा उक्त केन्द्रको भवन निर्माण सुरु गरिएको उहाँले बताउनुभयो । यस्तो कार्य वडाकै नमुना र अनुकरण योग्य रहेको अध्यक्ष थापाले बताउनु भयो । यस कार्यका लागि अध्यक्ष थापाले आफ्नो एक महिनाको तलवबाट २२ हजार केन्द्र निर्माण समितिका अध्यक्ष हरि गोपाल सापकोटालाई हस्तान्तरण गर्नुभएको छ ।