महाकाली नदीले खतराको तह पार गर्यो, किनार र तटीय क्षेत्रका नागरिकलाई सर्तक रहन प्रशासनको आग्रह
लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । महाकाली नदीमा पानीले खतराको तह पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।
शुक्रवार बिहान महाकाली नदीमा पानीले खतराको तह पार गरेको सूचना प्राप्त भएकाले नदी किनारका नागरिकलाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । दार्चुलाको दत्तुमा राखिएको जल मापन केन्द्रमा पनि जल सतहले खतराको तह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो ।
बैतडीको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका महाकाली नदी किनारका नागरिकहरूलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । साभारः उज्यालो अनलाइन ।







