पल्पसा आइसोलेसनबाट कोरोना जित्ने पहिलो संक्रमितको बिदाई
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट आज एकजना संक्रमित कोरोना जितेर घर फर्कनुभएको छ ।
आइसोलेसनका संयोजक भुवनलाल श्रेष्ठको अनुसार संचालन हुनु अगाडीनै संक्रमित हुनुभएको मनहरीगाँऊपालिका—४ की सन्तोषी गौतमको स्वास्थ्य अबस्था स्वस्थ रहेको र उहाँको कोरोना परिक्षणको नतिजा आएको पनि १४ दिन पुरा भैसकेकोले डिस्चार्ज गरिएको हो ।
आइसोलेसनबाट बिदाई हुंदै गर्दा गौतमले भन्नुभयो“यहाँ आउनु अगाडी म एकदमै आत्तिएको थिए मर्ने डर धेरै थियो तर यहाँ आएर हेर्दा सुरुमै अक्सिजन सिलन्डरमा आँखा प¥यो त्यसपछी नर्स र डाक्टरले आफ्नै परिवारको स्याहार गरेजस्तो गर्दा त मरिदैन भन्ने पक्का भयो ।”
आइसोलेसनको बसाई घरको जस्तो रहेको र सबैले आफ्नो पुर्ण ख्याल राखेको भन्दै उहाँले जानेबेलामा सबैमा धन्यबाद ब्यक्त गर्नुभयो । चौबिसै घण्टा नर्सको रेखदेख बिहान बेलुका चिकित्सकको स्वास्थ्यजाँच र सबैले दिएको हौसलाले आफ्नो आत्मबल बढाएको उहाँको भनाई थियो ।
पौष्टिक खाना, फलफुल र दबाईसंगै आइसोलेसन संचालकहरुको हौसलाले आफुलाई मर्ने डर मनमा नै नआएको उहाँले बताउनुभयो । कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले स्वास्थ्यकर्मीसंगै आफुहरु पनि बिहान ७ बजेदेखी राती १० बजेसम्म आइसोलेसन तथा संक्रमितको घरदैलोमा रहेको जानकारी दिनुभयो ।
हाल आइसोलेसनमा २३ जना संक्रमित रहनुभएको आइसोलेसनका संचालक सदस्य सरोज खनालले बताउनुभयो । उहाँले हेटौंडा अस्पतालको एक नर्स समेत यहाँ रहनुभएको जानकारी दिनुभयो । कोभिड हेल्प डेस्कबाट दैनिक कोरोना संक्रमितलाई परामर्शको साथै टेलिफोनबाट हालखबर बुझ्ने, स्वास्थ्य सामग्री र पौष्टिक आहार बितरण जस्ता कार्य भैरहेको जनाइएको छ ।





