मकवानपुरमा थप १ संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या १०९ पुग्यो
मकवानपुरमा बिहिबार राती थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचारको क्रममा गएराती एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
जेठ १९ गते कोरोना पुष्टि भइ अस्पतालमा उपचार गराइरहेकी मनहरी गाउँपालिका ९ की २२ बर्षीय महिलाको मृत्यु भएको हो । योसंगै मकवानपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १०९ पुगेको छ । हेटौडा उपमहानगरपालिकामा मात्रै सबै भन्दा बढी ८१ जनाको मृत्यु भएको छ ।
यस्तै बिहिबार ६२ जना नयाँ संक्रमित थपिएका छन् । २४ घण्टामा १६० जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयले जनाएको छ ।
योसंगै मकवानपुरमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार ६ सय ४१ पुगेको छ । जिल्लामा हाल १७ सय ३० जना संक्रमित घरमा र ९४ जना आइसोेसनमा गरी १८ सय २४ संक्रिय संक्रमित उपचाररत रहेका छन् ।
यसैबीच, मकवानपुरमा बिहिबार १४२ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १११ जना र आइसोलेसनबाट ३१ जना गरी थप १४२ जना संक्रमण मुक्त भएका हुन् । योसंगै मकवानपुरमा कोरोना निको हुनेको ७ हजार ७ सय ५३ पुगेको कार्यालयले जनाएको छ ।






